Monday, February 26

कविता : पढाउनु र लेख्नुको भिन्नता खोज्दै डंगोल   

प्रकाश सिलवाल    


काठमाडौं : ‘त्रिभुवन विश्वविद्यालयमा कविता पढाउँछु, आफैँ पनि कविता लेख्छु तर सिद्धान्तको कसीमा लेखिने विधा होइन रहेछ कविता’ कवि एवं उपप्राध्यापक आरएम डङ्गोलको अनुभवले भन्छ, ‘आजकल कविता आख्यान विधाको तुलनामा ओझेल पर्न थालेको छ, कविहरूले लोकजीवन लयलाई सरल र कलात्मकरूपमा प्रस्तुत नगर्ने हो भने कवितामाथि थप चुनौती थपिनेछ।’

‘राशिफल हेरिरहेको मान्छे’ र ‘दशजगावारी’ कविता सङ्ग्रहका स्रष्टा राजुमान डङ्गोलले विसं २०४२ तिर छिमेकी नुवाकोटको विदुर नगरपलिका-२ शेराबाट काठमाडौं छिरेर राष्ट्रियरुपमा स्थापित भए पनि कविताबारे अझै ठोकेर भन्न सक्ने नसक्नुको कविताको व्यापकता दर्शाउँछ।

प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठमा हरेक शनिबार बिहान हुने ‘निरन्तर शनिबार’ कार्यक्रममा आज मुख्य कविका रुपमा उपस्थित कवि डङ्गोलले कविता लेखनका अनुभव सुनाउँदै केही थान कवितावाचन गरेका थिए। ‘रेडियो नेपालमा दाहाल यज्ञनिधिको ‘साहित्य संसार’ कार्यक्रम सुनेर कविता वाचनकलामा आकर्षित भएँ।

‘साहित्य सन्ध्या’ संस्थाका कार्यक्रममा नियमित सहभागी हुँदै ‘गरिमा’ पत्रिकामा ‘अन्तरध्वनि’ कविता छापिएपछि म यस विधामा होमिएको हुँ।’ प्रगतिशील लेखक सङ्घका पूर्व महासचिव कवि डङ्गोलले तीन दशकअघिको विगत सम्झँदै भने, ‘कविताबारे पढाउनु र कविता लेख्नुमा धेरै भिन्नता हुँदोरहेछ।’

नयाँ र पुराना गरी सात कविता सुनाएका डङ्गोलले सम्बन्धित कविताका रचना गर्भबारे पनि संक्षिप्त अनुभव सुनाउँदा सहभागीले साहित्यिक स्वाद मानेका थिए। त्यसबखत कवि डङ्गोलले, ‘अन्तरध्वनि’, ‘पाँचथर’, ‘कवितामा काठमाडौँ’, ‘अनाम यात्रीहरुको नाममा’, ‘गुनासो २’, ‘शृङ्खला कविता’ र ‘अन्तर’ वाचन गरेका थिए। समालोचना पनि कलम चलाउने कवि डङ्गोलका संयुक्तसहित तीन कविता सङ्ग्रह छन्।

सहभागी पदम दाहाल, केवल कार्की, दुर्गा जोशी, सुविन खनाल, सोझो गाउँले, सुदर्शन शर्मा र पूर्णिमा प्रतिबिम्बले आफ्ना रचना प्रस्तुत गरे। पछिल्लो समय ‘सात कवि’ अभियानमा जोडिएका डङ्गोल विसं २०५७ मा नेपाल प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कविता महोत्सवमा तृतीय भएका थिए भने हालसम्म उनले काठमाडौं, नुवाकोट, चितवन र मोरङमा गरी आधा दर्जनस्थलमा एकल कविता वाचन गरिसकेका छन्। विभिन्न साहित्यिक संस्था र साहित्यिक पत्रकारितामा समेत आवद्ध डङ्गोल प्रलेसको पदीय जिम्मेवारीबाट हालै बिदा भएपछि फुर्सदिलो महशसुस गरी नयाँ कविता सङ्ग्रहको तयारीमा छन्।

‘सात कवि’ अभियानलाई डङ्गोलसहित गोविन्द नेपाल, छविरमण सिलवाल, टङ्क उप्रेती, ठाकुर बेल्बासे, प्रोल्लास सिन्धुलीय र मणि लोहनीले सामाजिक सञ्जालमार्फत् सञ्चालन गरिरहेका छन्। अभियानका एक सदस्य लोहनीले कवि डङ्गोललाई ‘विचारमा दर्शन र दर्शनमा विचार मुछेर कवितालाई कलात्मकरुपमा ढाल्न खप्पिस’ भनी चित्रण गरे।

नेपाली साहित्यमा बढी लेखिने तर कम बिक्री हुने विधामा कविता पर्नुले डङ्गोललाई मात्र होइन दर्शक दीर्घमा रहेका समीक्षक विनोद मञ्जनलाई पनि बिझेको रहेछ। कविता बुझेर विषयवस्तुमा पकड राख्नसक्ने र आकर्षक तरिकाले व्यक्त गर्नसक्ने भएपछि मात्रै कवितामा हात हाल्न सुझाउँदै मञ्जनले कवितामा कल्पना, बिम्ब, प्रतिक र सौंन्दर्यजस्ता तत्व अनिवार्य हुनुपर्ने बताए।

उनले साहित्यमै विद्यावारिधी गरेका कतिपयले विद्धवानले बिम्ब र प्रतीक एउटै हो भनिदिँदा वा त्यसको स्पष्ट परिभाषा नदिँदा स्रष्टामा अन्योल हुने उल्लेख गर्दै कवितामा ध्वनात्मक अर्थसमेत खोजिनुपर्ने औंल्याए।

दर्जनौँ निबन्धका स्रष्टा मञ्जनले माथिका चार तत्वभित्रै कवितामा विचार र कलाको गाम्भीर्यता मिश्रण हुने जनाउँदै भने, ‘कवित्व नभएका रचनालाई कविता भनिदिने समालोचक र अग्रजका कारण कविता विधामा सशक्त प्रतिभा वृद्धि हुन सकेको छैन।’

Leave a Reply

Discover more from खबरगृह

Subscribe now to keep reading and get access to the full archive.

Continue reading