Wednesday, February 21

गफ चुट्दै दिन बिताउँदै स्वास्थ्यकर्मी

सर्लाहीको लालबन्दी नगरपालिका–१४ नारायण खोलामा रहेको स्वास्थ्य चौकीमा सेवाग्राही नहुँदा स्वास्थ्यकर्मी गफ गरेर दिन बिताउन बाध्य छन् । दूर्गम क्षेत्रमा रहेको चौकीमा मुश्किलले दैनिक एक/दुई जना मात्र सेवाग्राही स्वास्थ्य सेवा लिन आउने हुँदा आफूहरु फुर्सदिलो भएको अनमी रीता भण्डारीले बताएकी छन् ।

‘कुनै दिन त सेवाग्राही नै आउँदैनन । के गरेर बस्नु त ? सेवा बन्द गरेर घर जानु भएन ?’ कतिपय औषधि समयमै प्रयोगमा नआउँदा अवधिसमेत गुज्रिएको छ । सो चौकीमा पुग्न सवारी साधनको सहज पहुँच छैन । घण्टौँ हिँडेर सेवाग्राही सेवा लिन बाध्य छन् ।

स्वास्थ्य चौकी नजिकैका सीमित सेवाग्राही मात्र सेवा लिन आउने गरेको अनमी भण्डारीले जानकारी दिइन् । चौकीमा प्रसूतिसहितको सेवा उपलब्ध भए पनि अधिकांशले घरमा नै सुत्केरी गराउने गरेका स्वास्थ्य चौकीको तथ्याङ्कले देखाएको छ । सो क्षेत्रको मुख्य बजार लालबन्दी रहेका कारण उपचार चौकीमा सेवाग्राही कम भएको जनाइएको छ ।

लालबन्दी नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक सुरेन्द्र खतिवडाले स्वास्थ्य चौकी नारायणखोलामा महिनामा बल्लतल्ल ३०/३५ सेवाग्राही आउने गरेका जानकारी दिनुभयो सो स्वास्थ्य चौकीमा अहिले दुई हेल्थ असिस्टेन्ट, दुई अहेब र एक अनमी कार्यरत छन् ।

सो स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई नगरपालिकाले आन्तरिक स्रोतबाट तलबको आठ प्रतिशत बढी सेवा सुविधा प्रदान गर्दै आएको छ । नगरको विकट क्षेत्रको स्वास्थ्य चौकी रहेका कारण त्यहाँ खटिने स्वास्थ्यकर्मीलाई सो सेवा सुविधाको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Discover more from खबरगृह

Subscribe now to keep reading and get access to the full archive.

Continue reading