Wednesday, April 17

मष्तिष्कमा चोटपछि बालबालिकामा देखिने अल्पनिद्राले स्मरण समस्या

बालबालिकाको मष्तिष्कमा चोट लागेको केही हप्तापछि देखिने निद्राको समस्या, थकावट र ध्यानमा एकाग्रता नआउने र यसका कारण मष्तिष्कको स्मरण शक्तिमा नै कमी आउने हालै सार्वजिनिक अष्ट्रेलियाली अनुसन्धान प्रतिवेदनले देखाएको छ।

अष्ट्रेलियाको क्विन्सल्याण्ड विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययनरत अनुसन्धानकर्ताहरूले मष्तिष्कमा चोट लागेपछि यसको भागमा देखिने सानातिना दागका कारण बालबालिकामा अल्पनिद्राको समस्या आउने र यसले दीर्घकालसम्म उनीहरूको स्मरण शक्तिलाई कमजोर बनाउने ‘म्याग्नेटिक रिसोनेन्स इमेजिङ’ (एमआरआई) रिपोर्टको लामो समयको अध्ययनपछि निष्कर्ष निकालेको डाक्टर कार्तिक लाएरले शुक्रबार राति जारी गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ।

मष्तिष्कको काममा देखिने कमी कुन दरमा सुधार हुन्छ वा अझै विग्रिँदै गएको छ यसलाई हेरेर बच्चाको समस्या पूर्ण वा आंशिक रूपमा निको हुन्छ भन्ने कुरा अनुमान गर्न सकिने डाक्टर लाएरले बताए।

उनले भने, “चोटपछि बिरामीको स्मरण शक्तिमा देखिने समस्यामा कुन दरले सुधार आउँछ वा सुधार नै आउँदैन भन्ने बिषयलाई हेरेर एउटा चिकित्सकले उसको समस्या निको हुन्छ वा हुँदैन भन्ने अनुमान गर्ने गर्छ। चिकित्सकले विरामीको संज्ञानात्मक बानीको सुधार अभ्यास, समयमा निद्रा लाग्न औषधिको प्रयोग वा चिकित्सकीय हिसाबले सुरक्षित तथा नयाँ मानिने आधुनिक चिकित्साविधान जस्तै समस्यालाई फैलिन नदिन तनाबमुक्त पार्न र निद्राका लागि शान्त तथा स्वस्थ्य वातावरणको उपलब्धतालगायतका कुराले समस्यालाई क्रमशः कम गर्दै जाने गर्छ।”

अनुसन्धानमा सहभागी चिकित्सकले मष्तिष्कमा चोट लागेको दुई महिनापछिका अवस्थामा स्मरण शक्तिमा कुन दरले सुधार हुनसक्छ वा हुँदैन भन्ने कुरालाई ८६ प्रतिशतसम्म सही अनुमान गर्न सफल भएका क्विन्स विश्वविद्यालयले जनाएको छ।

डाक्टर लाएरले भने, “सामान्यतया, मष्तिष्कमा दीर्घखालको चोट लागेका बालबालिकाको लक्षण उनीहरूको दृष्टि, शरीरलाई चलाउने मष्तिष्क क्षेत्र र संज्ञानात्मक क्षेत्रमा फरक फरक हुनेगर्छ। तर अनुसन्धानले कसरी यो विकशित हुन्छ वा स्वास्थ्यमा भविष्यमा पुनः सुधार आउँछ भन्ने विषयमा अनुसन्धानबाट प्रष्ट जानकारी हुन सकेन।”

अनुसन्धानमा सम्लग्न डाक्टर लाएरले थपे, “मष्तिष्क चोटका कारण बालबालिकालाई सामान्य गतिविधिमा फर्किन, विद्यालयमा अध्ययनका समयबाहेक अन्य अवस्थामा पनि उनीहरूको स्मरण शक्ति, बिषयप्रतिको तल्लिनता, निद्राको बानीमा गडबडी र स्वभावमा अस्वभाविक परिवर्तनजस्ता गम्भीर समस्या देखिन्छ। यी सबै कुराले स्वस्थ्य दिमागको विकासमा असर पार्ने गर्छ।”

‘अन्नाल्स अफ क्लिनिकल एण्ड ट्रान्सलेसनल न्यूरोलोजी’ नामक विज्ञानसम्बन्धी जोर्नलमा प्रकाशित अनुसन्धानको निष्कर्ष के छ, “मष्तिष्कमा सामान्य चोट लागेका धैरै बालबालिकाको समस्या उपचारबाट ठीक हुन्छ, तर दशमा १० मध्ये एक अथवा १० प्रतिशत बालबालिकामा यसको दीर्घ असर रहन पनि सक्छ।”

लाएरले भने, “टाउकोमा चोट लाग्नु सबैका लागि खतरा भएको र खासगरी बालबालिकाको टाउकोमा चोट लागेमा तत्काल चिकित्सकलाई देखाई विशेषज्ञ चिकित्सकको सल्लाह लिनु बाञ्छनीय छ।”

खेलकूदमा भाग लिँदा वा साइकल, मोटरसाइकल वा स्कूटर चलाउँदा सुरक्षाका लागि टाउकोमा हेलमेट वा टाउकोमा चोट लाग्नबाट जोगाउने खालका पहिरन लगाउन लाएरले सुझाब दिए।

Leave a Reply

Discover more from खबरगृह

Subscribe now to keep reading and get access to the full archive.

Continue reading