Thursday, May 23

अपांगताले छेकेन स्वरोजगार बन्‍न

च्यातिएका लुगालाई आकार दिनैमा जीवन व्यतित


दृढ इच्छाशक्ति हुने हो भने शारीरिक रुपमा अशक्त भएका व्यक्तिले समेत सपाङ्ग व्यक्ति सरह आफूलाई अब्बल बनाउन सक्छन् भन्ने उदाहरण बनेका छन् शारीरिक अपांगता भएका तमानखोला गाउँपालिका–१ बुङगादोभनका धनिराम सुनार ।

सोह्र वर्षको कलिलो उमेरमा दाहिने खुट्टाले काम गर्न छाडेपछि अपांगता भएका सुनारलाई २४ वर्ष पहिला ल्याएको सिलाइकटाइ तालीमले स्वरोजगार बनाएको छ । बुङ्गादोभन बजार छेउमै घर भएका धनिरामको उद्रिएका, फाँटेका र च्यातिएका लुगालाई आकार दिनैमा जीवन व्यतित भएको छ ।

कपडा सिलाउँदै जिन्दगी गुजारेका सुनार हँसिलो अनुहार बनाउँदै भन्नुहुन्छ, “सीप भए भोकले मर्नु पर्दैन ।” सोह्र वर्षको उमेरमा सामान्य सुन्निएको खुट्टा उपचारको अभावमा काम गर्न छोडेको थियो । परम्परागत शैलीमा उपचार गर्ने भन्दै झिर तताएर अभिभावकले खुट्टामा कोप्दा नशा र हड्डीमा छोइएर दाहिने खुट्टाले काम गर्न छोडेपछि अपाङ्गता भएका धनीरामको काँधमा पाँच जनाको परिवार पाल्ने जिम्मेवारी रहेको छ ।

चौबिस वर्ष पहिले बागलुङको बुर्तिवाङमा सिलाइकटाइको तालीम लिएका धनीरामले चार वर्ष पहिलेसम्म तमानखोलाका विभिन्न गाउँगाउँमा पुगेर बाली लगाउँथे । श्रीमतीको सहयोगमा व्यक्तिका घरघर पुगेर कपडा, थाउना र ओढ्ने, ओछ्याउने सिलाउने र मकै कोदो बाली उठाएर परिवार पाल्दै आएका धनीरामले पछिल्लो समय आधुनिक सिलाइ मेसिनसहित नयाँनयाँ डिजाइनका कपडा लगाउने चलन आएपछि घरमै बसेर लुगा सिलाउँदै आएका छन् । “चौध वर्षसम्म बाली उठाएर सिलाउने काम गरेँ”, सुनारले भने, “समयअनुसार व्यवसाय गर्ने तरिकामा पनि परिवर्तन हुँदो रहेछ, अहिले बालिघरे प्रथा हटिसक्यो ज्यालामा काम गर्दै परिवार पालिरहेको छु”, अपांगता भए पनि कतै मागेर खानुपर्ने अवस्था नआएको सुनार बताउँछन् ।

परिवार बढ्दै गएको र कमाई सीमित हुन थालेपछि धनीरामले सिलाइकटाइ व्यवसायसँगै माछा मार्ने जाल पनि बुन्न थालेका छन् । माछा मार्दा खोलामा विषादी र करेन्ट प्रयोग गर्न नपाइने भएपछि धनीरामको माछाको जाल बुन्ने व्यवसाय पनि फस्टाउँदै गएको छ । “मेरो मुख्य व्यवसाय सिलाइकटाइ नै हो”, धनीराम भने, “मागअनुसार माछा मार्ने जाल पनि बुन्ने गरेको छु ।” एउटा माछाको जाल तीन हजार ५०० र वटा मिसाएर पूर्णरुपमा बुनेको माछा मार्ने जाल रु आठ हजारमा बिक्री गर्ने गरेको उनले बताउँछन ।

आफ्नो खुट्टाले टेकेर चर्पीसमेत जान कठिन हुने धनीरामको जीवनमा उनकी ४९ वर्षीया श्रीमती पानमती सुनारको सहयोगका कारण स्वरोजगार बनेको बताउँछन । सरकारकोतर्फबाट महीनाको रु ६०० अपांगता भत्ता लिँदै आएका धनीरामले अपांगता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण बदल्नुपर्ने बताउँछन् ।

Leave a Reply

Discover more from खबरगृह

Subscribe now to keep reading and get access to the full archive.

Continue reading