Thursday, October 3

क्षतिपूर्ति पुनरावलोकनलगायत माग गर्दै ‘ल्याण्डफिल्ड साइड’ एक सातादेखि बन्द

  • पूर्णप्रसाद मिश्र    

उपत्यकाका नदीलगायत चक्रपथ सफाइ अभियान निरन्तर जारी रही स्वच्छ राजधानी बनाउन सहयोग पुगेपनि हप्ता दिनदेखि फोहर नउठ्दा दुर्गन्धित बनेको छ।

फोहर नउठ्दा राजधानीका चोक चोकमा थुप्रो जम्मा भएको छ । वर्षायाम भएकाले फोहरका कारण संक्रामक रोग फैलन सक्ने भय उत्पन्न भएको छ। राजधानीको सडकमा निस्कन सक्ने अवस्था छैन। नुवाकोट जिल्ला ककनी गाउँपालिका–२ स्थित सिसडोलका स्थानीयवासीले क्षतिपूर्ति पुनरावलोकनलगायत माग गर्दै ‘ल्याण्डफिल्ड साइड’ एक हप्तादेखि बन्द गरेका छन्।

 काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठ सिसडोलवासीसँग शुक्रबारदेखि वार्ता जारी रहेकाले केही दिनमै समस्या समाधानतिर जाने बताउँछन्। ‘ल्याण्डफिल्ड साइड’ का लागि उपयोग भइरहेको जग्गा अधिग्रहण गरिनुपर्ने माग पनि पीडितको छ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार फोहर व्यवस्थापनको जिम्मेवारी सम्बन्धित स्थानीय तहको हो। राजधानी दुर्गन्धित हुँदा पनि यहाँका स्थानीय सरकारले फोहर व्यवस्थापनमा ध्यान नदिएको पुतलीसडकवासी जीवन श्रेष्ठले गुनासो गरे।

पुतलीसडकमा डेढ वर्षअघिदेखि बगिरहेको ढलको कुलो अझै काठमाडौं महानगरपालिकाले बन्द नगर्दा यस क्षेत्रमा बस्न नसक्ने वातावरण बनेको उनको आक्रोश छ। केन्द्रीय सरकारका राज्य सञ्चालकहरू दैनिक हिँड्ने मार्गकै यस्तो अवस्था छ भने अन्यत्र के भइरहेको होला भनी सहजै अनुमान गर्न सकिने स्थानीयवासीको गुनासो छ।

‘ल्याण्डफिल्ड साइड’ मा पूर्वाधार निर्माणको जिम्मेवारी भने शहरी विकास मन्त्रालयलाई दिइएको छ। शहरी विकास तथा भवन निर्माण विभागले पूर्वाधार निर्माण गर्ने तयारी भइरहेको जनाइएको छ। सिसडोल नजिकैको बञ्चरेडाँडामा विभागले फोहर फाल्ने स्थानको पूर्वाधार निर्माण गरिरहेको छ।

वाग्मती सफाइ ३२० हप्तामा    

वाग्मती सफाइ महाअभियानको ३२०औँ हप्तामा शङ्खमूल पुलमुनिको नदी किनारमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो। सफाइमा १९ संस्थाका ४०० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक सदस्य माला खरेलले जानकारी दिइन्।

सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, आयोजना प्रमुख आशीष घिमिरेलगायत अभियानकर्मीको सहभागिता थियो। वाग्मती सफाइ सकिएपछि नदी किनारमै असार १५ गतेको सम्झनामा दही चिउरा खाएर सांस्कृतिक पर्व मनाइएको थियो।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको २८२औँ हप्तामा आज माकलबारी टोल क्षेत्रमा सफाइ गरियो। फोहर बोक्ने सवारी नआउने भएकाले नदी किनारको झार उखेलेर सफाइ गरिएको अभियानकर्मी ईश्वर पुडासैनीले बताए।

सफाइमा वाग्मती सुन्दरता सरोकार मञ्च, माकालबारी टोल सुधार समिति, राम्रो जोरपाटी, हाम्रो जोरपाटीलगायत संस्थाका गरी १०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो। घरबाट निस्कने फोहर व्यवस्थापन नगर्नेलाई यस क्षेत्रको सफाइमा नआउन मञ्चले आह्वान गर्दै आएको छ।

रुद्रमती सफाइ अभियानको २७४औँ हप्तामा रातोपुलबाट सेतोपुलसम्मको नदी किनारमा उम्रिएका झार स्थानीयवासीलाई आ–आफ्नो घरअघि उखेल्न लगाइएको अभियानकर्मी रोहित गिरीले जानकारी दिए।

काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीको नेतृत्वमा यस क्षेत्रमा प्रत्येक हप्ता शनिबार सफाइ हुने गरेको छ। यसैगरी विष्णुमती सफाइको २४७औँ हप्तामा आज तारकेश्वर नगरपालिका वडा नं. ९ र १० क्षेत्रमा सफाइ गरियो।

सफाइमा नवीननगर योग साधना केन्द्रको पनि सहभागिता थियो । पातञ्जल योग समिति नेपाल, काठमाडौ, नेपालटार चारघरे योग साधना केन्द्र, बासुकी नाग योग साधना केन्द्र, नेपाली सेना, तारकेश्वर सरसफाइ प्रालि, तारकेश्वर नगरपालिका वडा नं १० का अध्यक्ष अमृत थापाको समेत सफाइमा सक्रियता रहेको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिए।

आजको विष्णुमती सफाइबाट करीब चार टन फोहर व्यवस्थापन गरिएको उनले बताए। विष्णुमतीको माथिल्लो भागमा नदी केही सफाइ देखिए पनि शोभाभगवतीभन्दा तलको नदीको किनारमा हिँड्नै नसकिने गरी दुर्गन्धित रहेको स्थानीयवासीको गुनासो छ।

वाग्मती तिलगङ्गा खण्ड सफाइको २२१ औँ हप्तामा त्यस क्षेत्रको नदी किनारका साथै पिङ्गला स्थान मन्दिर क्षेत्रमा सफाइ गरिएको अभियानकर्मी आशा पाण्डेले जानकारी दिए। सफाइमा काठमाडौं महानगरपालिका–९ का जनप्रतिनिधिको पनि सक्रियता थियो।

चक्रपथ सफाइको ११७औँ हप्तामा बसुन्धरा चोकबाट पश्चिमतर्फको सडक क्षेत्रमा सफाइ गरियो। करीब ४०० अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट सात टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी लोकबहादुर टण्डनले बताए।

यसैगरी, आलोकनगर सफाइको ११७ औँ हप्तामा त्यस क्षेत्रमा घर दैलो जनचेतामूलक अभियानसहित सफाइ गरियो। यहाँको साप्ताहिक सफाइका क्रममा यस क्षेत्रमा उम्रिएका गाँजाको बिरुवा पनि नष्ट गरिएको अभियानकर्मी प्रमिला पौडेलले राससलाई बताइन्।

चक्रपथ वाफल खण्ड सफाइको ९८ औँ हप्तामा स्यूचाटारबाट सीतापाइलासम्म सफाइ गरियो। डम्पिङ साइड बन्द रहेकाले महानगरपालिका र नेप्से म्याकको गाडी फोहर लिन नआएको अभियानकर्मी ताराबहादुर कुँवरले राससलाई सुनाए। सफाइमा ९० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो।

असार २८ गते शनिबार सफाइको १००औँ हप्ताको कार्यक्रम विशेष रुपमा मनाउने तयारी गरिएको जानकारी पनि उनले दिए। यसैगरी, आज राजधानीका सुन्दरीघाट, मनोहरालगायत स्थानमा पनि सफाइ अभियान जारी रहेको जनाइएको छ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि उपत्यकाका नदी र चक्रपथ सफाइ अभियानसमेत प्रारम्भ भएको हो। वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई हाल देशभरका १०५ स्थानभन्दा बढी ठाउँमा सफाइ अभियान चलिरहेको छ।


Discover more from खबरगृह

Subscribe to get the latest posts sent to your email.

Leave a Reply

Discover more from खबरगृह

Subscribe now to keep reading and get access to the full archive.

Continue reading